हेटौँडा,असार १२ गते। लागूऔषध दुरुपयोग तथा ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस “जुन २६” को अवसरमा हेटौंडामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ। “लागूऔषधको चुनौती चिनौंः सामाजिक समाधानको बाटो रोजौं” भन्ने नारासहित बिहीबार बिहान ६ः३० बजे कार्यक्रम आयोजना गरिएको हो।

तालुक जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा हेटौंडा बजार क्षेत्रमा प्रभातफेरी कार्यक्रम गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बल, नगर प्रहरी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, सरकारी तथा निजी विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रभातफेरीका सहभागीहरुले लागूऔषध दुरुपयोग नियन्त्रण, युवा पुस्तामा सचेतना अभिवृद्धि तथा सामाजिक सहकार्यको आवश्यकता सम्बन्धी सन्देशमूलक नाराहरु प्रदर्शन गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरुले लागूऔषध विरुद्धको अभियानलाई प्रभावकारी बनाउन समुदाय, विद्यालय, परिवार तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

कार्यक्रमले समाजमा लागूऔषध दुरुपयोग विरुद्ध जनचेतना फैलाउने तथा युवाहरुलाई सकारात्मक बाटोतर्फ प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।














