मकवानपुर । हेटौंडा अस्पतालमा झुन्ड्याइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्डमाथी अभियान टोलिको नेतृत्वमा हेटौंडा बासिले हेटौंडा अस्पतालको बोर्ड राखेको छ । हेटौंडा अस्पताललाई संस्थाको नाममा ल्याउने उद्देश्यले राखिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड अब राख्न नहुने भन्दै अभियान टोलिले उक्त कार्य अघि बढाइएको अभियानकर्ताको भनाइ छ ।

चैत्र २७ गते हावाहुरिका कारण झरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड पुन राख्ने कि नराख्ने भन्ने विषयको छलफलमा उपस्थित हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान टोलिले अब उक्त बोर्ड नराख्न अनुरोध गरेकोमा अटेर गर्दै तत्काल बोर्ड राखेकोले चैत्र ३१ गते आइतबार अभियान टोलिले उक्त बोर्डमाथी हेटौंडा अस्पतालको बोर्ड राखेको हो । बाध्य भै यसरी बोर्ड राख्नु सरकारी सम्पत्ति हडप्न खोज्ने प्रतिष्ठानको गलत कार्यको विरुद्ध सांकेतिक विरोध मात्रै भएको अभियान टोलिका संयोजक विशाल राज महतको भनाइ छ ।

वि.सं. २०७६ सालको बागमती प्रदेशको कानुन बमोजिम हेटौंडा अस्पताल प्रतिष्ठानको मातहतमा रहेको भन्दै सरकारी अस्पताल जो आम नागरिकको साझा सम्पत्तिको दोहन गर्ने कार्य तथा नीति परिवर्तन गर्नुपर्छ भन्दै विगत लामो समयदेखी हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान टोलिले विभिन्न कार्य गर्दै आइरहेको छ । संयोजक महतका अनुसार भित्रभित्रै सेटिङ मिलाएर हेटौंडा अस्पतालको चल अचल सम्पत्ति संस्थगत तथा पार्टीकारण गर्न खोजिएको कुरा आज अभियान टोलिको सक्रियतामा जनतामाझ पुगेको छ ।















